नेकपा दुर्घटना नजिक देखिन्छ, सल्लाह गरौं, समाधान निकालौं

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई गयल हुन निर्देशन दिए । ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो ।

बिहान ११ बज्न केहीबेर मात्र बाँकी हुँदा प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा बैठक स्थगनको सूचना प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक गरेका थिए । बैठक स्थगित भएको सूचना पाएर बाटैबाट घर फर्किएका केही नेताहरु पछि फेरि बालुवाटारमा आए र बैठकमा सहभागी भए ।

र, ओली समूहका नेताहरुको अनुपस्थितिमै बसेको बैठकले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव नै पारित ग¥यो । सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीको सरकारी निवासभित्रै बहुमत सदस्यहरु बसेर प्रधानमन्त्रीविरुद्ध यसरी प्रस्ताव पारित गर्नु भनेको प्रधानमन्त्रीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णय यस्तो छ ।

‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष बामरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ । त्यसका साथसाथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ ।’

खुमलटार–बालुवाटारको त्यो फोनवार्ता !

मंगलबार बिहानै खुमलटारमा नेकपा अध्यक्ष प्रचण्ड मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्यहरुसँग परामर्शमा व्यस्त
थिए ।

विहान ११ बजे बोलाएको स्थायी कमिटी बैठकमा कोभिड–१९ बारे छलफल गरेर साझा धारणा बनाउने र बुधबार सचिवालय बैठक बसेर अरु विषयमा सहमति खोज्ने आफ्नो सोच रहेको प्रचण्डले मन्त्रीहरुलाई सुनाए । मन्त्रीहरुले पनि ‘ठीकै हो’ भने । र, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग समझदारी कायम गरेर यसबारे निर्णय गर्न प्रचण्डलाई सुझाए ।

ठीक, त्यहीबेला प्रचण्डलाई बालुवाटारबाट प्रधानमन्त्री ओलीको फोन आयो । प्रधानमन्त्री ओलीले मंगलबार ११ बजे बोलाइएको बैठक स्थगित गर्न प्रचण्डसँग प्रस्ताव गरे । मन्त्रीहरुकै अगाडि बसेर कुराकानी गरेका प्रचण्डले ओलीलाई भने, ‘बैठक अहिले नरोकौं । म आउँछु, अनि सल्लाह गरौंला ।

खुमलटारको भेटमा सहभागी एक मन्त्री भन्छन्, ‘प्रधानमन्त्रीले आजको बैठकबाट मलाई हटाउने तयारी छ रे, बैठक नगरौं भन्नुभयो क्यारे । अध्यक्ष प्रचण्डले तपाई किन आत्तिनुभएको ? त्यस्तो केही तयारी छैन । आज कोभिड–१९ बारे छलफल गरौं, अरु विषयमा भोलि सचिवालय बसेर सहमति खोजौंला भन्नुभयो ।’

फोन राखेपछि प्रचण्ड बालुवाटार जान हतारिए । तर, कुराकानी छोट्याएर नेताहरु निस्किएको केहीबेरमै स्थायी कमिटी बैठक स्थगित भएको सूर्य थापाको फेसबुक स्टाटस आयो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्ने निर्णय गरे । पार्टी महासचिव विष्णु पौडेल र आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत प्रधानमन्त्रीले स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रवाह गराए ।

यो सूचनाले कतिपय नेता बैठकस्थलमा नगई बीच बाटोबाटै फर्किए । प्रचण्डसहितका नेताहरु भने बालुवाटार पुगे । सामान्य परामर्शपछि अध्यक्ष प्रचण्ड पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको क्वार्टरमा गए ।

प्रचण्डले प्रधानमन्त्रीलाई बैठकमा आउन आग्रह गरे । तर, ओलीले आफूले स्थगित गरिसकेको भन्दै नआउने बताए । पार्टी प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘आजको बैठकलाई विधिविपरीत अध्यक्ष केपी शर्मा ओलीले स्थगित गर्ने सूचना गर्नुभएकोमा यसलाई यो बैठकले अनुचित ठहर गर्ने निर्णय गर्नुभन्दा अगाडि अध्यक्ष कमरेड प्रचण्ड र बरिष्ठ नेता कमरेड झलनाथ खनाल अध्यक्ष कमरेड केपी ओलीसँग छलफल गर्न जानुभएको
थियो ।

दुई अध्यक्षको मर्म तोडियो : प्रचण्ड

ओलीलाई भेटेर फर्किएका अध्यक्ष प्रचण्ड बैठक हलमा आए र नेताहरुलाई सम्बोधन गरे ।

सहभागी एक नेताका अनुसार प्रचण्डले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गर्नु पार्टीमा दुई अध्यक्ष रहने सहमतिको मर्म विपरीत भएको बताए । ‘बैठक स्थगित गरेर गलत गर्नुभयो, यसले पार्टी एकता जोगाउन मद्दत गर्दैन’ उनले भने । अर्का अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भए पनि एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने भन्दै उनले उत्तेजित नहुन आग्रह गरे ।

अध्यक्ष ओलीसँग सम्वाद गरेर फेरि बैठकलाई अगाडि बढाउन पहल गर्ने उनले बताए । त्यसपछि बैठकमा केही स्थायी कमिटी सदस्यले पनि आ–आफ्नो धारणा राखे ।

बहुमतको सन्देश : ओलीको मनपरी चल्दैन

२९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्य उपस्थित बैठकले अध्यक्ष ओलीले एकपक्षीयरुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ ।

र, प्रचण्डले समय मागेअनुसार ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक सुचारु गर्ने जिम्मा उनैलाई दिइएको छ ।

‘जारी रहेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष कमरेड ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय भएको छ ।’

फेरि अध्यक्षद्वयबीच सम्वाद गर्नुपर्ने भए बहुमत स्थायी कमिटी सदस्यहरुको यो बैठकको के औचित्य ? स्थायी कमिटीको बैठकमा सहभागी एक नेता भन्छन्, ‘पार्टीमा केपी ओलीले जे गरे पनि हुन्छ, उनले जे भन्छन्, त्यो सबैले मान्छन् भन्ने स्थापित गर्न खोजियो । त्यसलाई तोड्न पनि यो बैठक बस्न जरुरी थियो ।

यद्यपि पार्टीलाई फुटबाट जोगाउनकै लागि मंगलबारको बैठक नियमित एजेण्डामा प्रवेश नगरेको र ओलीसँग सहमति खोज्ने निर्णय मात्र गरिएको उनीहरुको तर्क छ ।

भीम रावलको प्रश्नः जो विधान मान्दैन, उही एकता पक्षधर ?

बैठकमा कडारुपमा प्रस्तुत भएका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्रको अवस्था असामान्य बनेको बताए । पार्टीमा जसले विधान र पद्दतिअनुसार चल्नुपर्छ भनिरहेको छ, उनीहरुलाई नै एकता विरोधीका रुपमा प्रचार गरिएको र जो विधान मान्दैन, उचाहिँ एकताको पक्षधर भन्ने प्रचार गर्न खोजिएको रावलले बताए ।

बैठकमा भीम रावलले भनाइको सार यस्तो थियो ।

यो स्थायी कमिटीको बैठक असार १० गतेदेखि आजसम्म यति लामो समयसम्म बस्दाखेरि पनि बैठकले कुनै पनि निर्णय गरेन । बैठकमा राम्रोसँग छलफल भएन । यसले हाम्रो पार्टीको क्षमता जनता र सबैका अगाडि हाम्रो विश्वसनीयतामाथि नै चोट पु¥याएको छ । र, बाहिर मुख देखाउन नसकिने स्थिति भएको छ ।

सरकारले अध्यादेश ल्याएका बेलामा हामी २० जना स्थायी कमिटीका सदस्यहरुले हस्ताक्षर गरेर पार्टी विधानको धारा ४९ को ४ अनुसार बैठकको माग ग¥यौं । विधान अनुसार माग गर्दा पनि बैठक बोलाइएन । अहिले पनि बैठकका कार्यसूचिहरुमा प्रवेश नगर्ने, त्यसमा छलफल नगर्ने र नटुंग्याउने कुरा यो उचित भएन । बैठकमा छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्नुपर्छ ।

कतिपय मानिसहरुले बाहिर भनेजस्तो यो पदका लागि मात्रै पनि होइन । हामीले खाली पदका लागि मात्रै स्थायी कमिटीको बैठकको कुरा गरेका होइनौं । यद्यपि काम अगाडि बढाउँदाखेरि त्यसमा पद पनि गाँसिएर आउँछ, त्यो अलग कुरा हो । तर, हामीले उठाएका राष्ट्रियता लगाउतका विषयमा कतिपय मानिसहरुले केही पनि होइन भनेका छन्, त्यस्तो सन्देश नजाओस् । हामीले विषयहरुलाई महत्वका साथ उठाएका छौं । जनता र देशको सरोकारको विषयमा हाम्रो धेरै ठूलो चासो छ ।

पार्टीको विभाजनको जुन कुरा गरिँदैछ, हामी पार्टी विधानअनुसार चल्नुपर्छ, पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र पार्टीमा फुटका कुरा गर्नुहुँदैन, पार्टी प्रणालीबाट चल्नुपर्छ भन्ने मान्छेहरु नै पार्टी फुटतिर लागे भनेर ठान्छ भने त्यो गलत कुरा हो ।

जसले विधान नमान्ने, जसले संगठनको प्रणाली नमान्ने, बैठकमा छलफल गर्ने कुरालाई महत्व नदिने , त्यस्ताले चाहिँ पार्टीलाई एक बनाएको ठहरिने ? अनि पार्टी विधान, पद्दति र प्रक्रियाअनुसार चल्नुपर्छ भन्नेहरु चाहिँ फुट चाहन्छन् भन्ने कुरा गलत हो । हामी पार्टीलाई एकतावद्ध बनाएर लैजाने पक्षमा छौं ।

वामदेव गौतमजीले ६ बुँदे जुन अगाडि राख्नुभएको छ, उहाँले आज प्रयास गर्नुभएको छ । यस्तो प्रयास सबैले गर्नुपर्छ । उहाँलाई पनि धन्यवाद छ । पार्टीलाई एक ठाउँमा राख्ने प्रयास हामीले जहिले पनि गरिरहनुपर्छ । तर, स्थायी कमिटीको बैठक जारी छ भने यी कुराहरु बैठकमा छलफल हुनुपर्छ । बैठकबाटै त्यसलाई टुंग्याउनुपर्छ ।

वामदेवसँग गुहार माग्दै भैंसेपाटीमा

बैठकमा उपस्थित हुन अटेर गरेका प्रधानमन्त्री ओली मंगलबार साँझ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे ।

प्रचण्ड–माधव समूह छाडेर आफूतिर नजिकिएलगत्तै प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न निवासमै पुगेका हुन् । सो भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी थिए ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर, प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर ग¥यो । जुन बैठकमा गौतम पनि थिए ।

गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म प्रस्तुत गरेका थिए ।

तथापि बालुवाटारमा बसेको मंगलबारको बैठकमा गौतम प्रधानमन्त्रीविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका थिए ।

मंगलबारदेखि नेकपाभित्र जुनखालको परिस्थिति उत्पन्न भएको छ, यसले पार्टीभित्रको विवाद मिल्नुको साटो झनै चर्किने संकेत देखिएको छ । सम्भवतः यही गम्भीरतालाई बुझेर हुनुपर्छ, स्थायी कमिटी सदस्य एवं मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा एक वाक्य लेखेका छन्, दुर्घटना नजिक देखिन्छ सल्लाह गरौं ।

समाचार अनलाइन खबरबाट