गुल्मीमा पहिरोले ६ घरपरिवार विस्थापित र एक ट्रक पुरियो

१३ साउन, गुल्मी । हिजोआज बर्षाको पानी सँगै आएको बाढी र पहिरोले देशका धेरै ठाउँमा पहिरोले धेरैका ज्यान लिइसकेको छ । हिजो राती आएको लगातार बर्षाका कारण गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

हिजो सोमबार साँझ हिलो बाटोमा अड्किएको ट्रक डोजरले तान्दा टोचन चुँडिएपछि त्यत्तिकै छाडिएको थियो । गएराति करिब साढे बाह्र बजे पहिरोले सो ट्रकलाई पुरेको हो । पहिरोले ट्रक पुरे पनि मानवीय क्षति भने भएको छैन ।

यसैबीच अबिरल वर्षासँगै गएको पहरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । सोमबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर(८ बास्कोटमा सोमबार रातिदेखि परिरहेको वर्षाको कारण पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन् ।

केही गोठमा पनि क्षति पुगेको र घर नै जोखिममा रहेका छन् ।