प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकपक्षीय निर्णयले स्थायी कमिटीको बैठक स्थगित

१३ साउन, काठमाण्डौ । आज बस्ने भनिएको (नेकपा) को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्र ी केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् ।

बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए ।

पार्टी प्रचार विभागका उपप्रमुख समेत रहेका उनले फेसबुकमा लेखेका थिए, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

तर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच यसबारे परामर्श नै नभएको नेताहरुले बताएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको एक नेताले बताएका छन् । बैठक स्थगित गर्न न्यूनतम पनि दुई अध्यक्षको बीचमा छलफल हुनुपर्छ, तर उहाँले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु भएको रहेछ ।

तर बैठकका लागि भनेर प्रचण्डसहितका नेताहरु बालुवाटारमा पुगिसकेको बताइएको छ ।