नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित कहिले बस्ने टुङेगो छैन

१३ साउन, काठमाण्डौ । आज मंगलबार बिहान ११ बजे बस्ने गरी समय तोकिएको नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

साउन ६ गते बस्ने भनिएको बैठक सोही दिन बाढी–पहिरो पीडितको उद्धार र राहतका लागि भन्दै बैठक एक साताका लागि स्थगित भएको थियो । यो अवधिमा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक पटकमात्र छलफल भएका पनि थिए ।

हिजो सोमबार प्रचण्ड निवास खुमलटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उनीहरूको छलफलले आजको बैठक सुचारू गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

असार १० गतेदेखि सुरू भएको नेकपा स्थायी कमिटी बैठक सात दिनमात्र चलेर बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग जोडतोडका साथ उठेपछि बैठक हालसम्म मिति तोक्दै स्थगित हुँदै आएको छ ।