पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने

१० साउन, काठमाडौं । नेकपा भित्र चुलिएको विवाद पार्टी फ्याक्सन हुने सम्मको अवस्थामा पुगेको छ । यही राजनीतिक सवालमा नेकपा नेता तथा पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्ने क्रममा पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ नदिने बताए ।

नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गर्दै वर्तमान सरकारले गणतन्त्रलाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनेर जनताको बीचमा जाने ?

नेता बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए । जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् । भण्डारीको विचारलाई जनताको मनमनमा पुर्याउनुपर्ने समेत जोड दिए ।