Breaking News

प्रधानन्यायाधीशलाई राजीनामा दिन मिश्रको आग्रह

१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् । संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् ।

‘न्यायका लागि साझा तराजु यात्रा’ लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन ।’

जबराको फैसलालाई सबैले त्रुटिपूर्ण भनेको उल्लेख गर्दै उनले अघि भने, ‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनस्र्थापित गर्न सहायक सिद्ध हुन्छ ।’

साझा पार्टीका संयोजक मिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए । महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने उनले बताए ।

पार्टी कार्यालय बखुण्डोलबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो ।