कर्णालीमा ३ जना बालबालिकासहित ३० जना कोरोना भाइरसका संक्रमति थपिए

८ साउन, काठमाण्डौ । कोरोना लकडाउन अन्त्य सँगै कोरोना भाइरसका संक्रमित थपिने क्रम पनि जारी छ । आज कर्णाली प्रदेशका विभिन्न जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका जिज्लाहरुमा सुर्खेतका ५, दैलेखका २४ जना र सल्यानका १ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यी मध्ये ३ जना बालवालिका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको आठविस नगरपालिका–१ का ४ र ५ वर्षीय बालक, सुर्खेतको चौकुने गाउँपालिका–७ का ३ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका ३ जना पुरुष, चौकुने गाउँपालिकाका १ बालिका, १ जना महिला, सल्यानको छत्रेश्वरी गाउँपालिकाका १ जना पुरुष रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

यस्तै दैलेखको आठविस नगरपालिकाका २ बालकसहित ८ जना पुरुष, २ जना महिला, महाबु गाउँपालिकाका १२ जना पुरुष रहेका तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ८१३ पुगेको छ ।