कम्युनिष्ट यौद्धा बर्मन बुढामगरप्रति नेकपा (माओवादी केन्द्र) द्धारा श्रद्धाञ्जली

७ साउन, काठमाडौं । रोल्पा निवासी कम्युनिष्ट यौद्धा तथा क्रान्तिकारी नेता बर्मन बुढामगरको आज उपचाररत निधन भएको छ । यौद्धा बर्मनप्रति नेकपा (माओवादी केन्द्र) ले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परीवारजनमा समवेदना व्यक्त गरेको
छ ।

आफ्नो जीवनको करिब ६ दशक सामाजिक व्यवस्था रुपान्तरणको राजनीतिक आन्दोलनमा बिताएका बुढामगरको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति भएको उल्लेख गर्दै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले शोक वक्तव्य जारी गरेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त शोक वक्तव्यमा नेता बुढामगरको क्यान्सरका कारण असामयिक निधन भएको प्रति समग्र पार्टी स्तब्ध भएको बताइएको छ ।

वक्तव्यमा भनिएको छ–‘सामन्तवाद विरुद्धको आन्दोलनका अथक योद्धा, नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार, त्यागी र संघर्षशिल नेता, रोल्पाको थवाङ निवासी कम्रेड बर्मन बुढामगरको असामयिक निधनको खबरले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अत्यन्त मर्माहत र स्तब्ध भएको छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘जनन्यायीक व्यवस्था स्थापनार्थ डटेर पश्चिम नेपालको रोल्पाबाट कम्युनिष्ट आन्दोलनको झण्डा फहराउने अग्रज व्यक्तित्व, विभिन्न भूमिकाबाट कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका कम्रेड बर्मन बुढामगरको आज ‘निधन भएको छ । यसले समग्र कम्युनिष्ट आन्दोलनमा क्षति भएको छ ।

उहाँले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको चर्चा गर्दै विज्ञप्तीमा भनिएको छ–‘उहाँ रोल्पाली जनताका साथै पश्चिम नेपालको मुक्ति आन्दोलनका अभिभावक समेत हुनुहुन्छ । उहाँले सामाजिक दलाल सत्ता विरुद्ध जनताको मुक्ति र अधिकारका लागि निरन्तर संघर्षमा आफ्नो जीवनको अमूल्य समय जो दिनुभएको छ, हाम्रो पार्टी उहाँको योगदान र संघर्षप्रति स–सम्मान लालसलाम गर्दछ, साथैं उहाँले देखाएको न्याय र समानताको लागि मुक्ति आन्दोलनको बाटोमा निरन्तर वर्गसंघर्षको नेतृत्व गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छ ।’

कम्युनिष्ट आन्दोलनमा एक असल, इमान्दर र त्यागी नेता गु’माउनु पर्दा अत्यन्त पीडाको अनुभूति गरिरहेको जनाउँदै माओवादी केन्द्रले बर्मन बुढामगरप्रति लाल–सलामसहित भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । साथै उहाँको शोकाकुल परिवारजन, आफ्न्त र सुभेच्छुकजन सबैमा परेको दुःखप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बुढामगरले देखेको समानतामूलक सामाजिक व्यवस्था स्थापनार्थको आन्दोलनलाई आफ्नो पार्टीले निरन्तर अघि बढाउँने विश्वास दिलाउँदै माओवादी केन्द्रले संघर्षको हरेक प्रकृयामा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।