पछिल्लो २४ घन्टामा १०० जना कोरोना भाइरसका संक्रमित थपिए

७ साउन, काठमाडौं । आज देशभर कोरानो भाइरसका १०० जना संक्रमिण थपिएका छन् । आजै दुई जना कोरोना भाइरसबाट मृत्यु भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ । पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । र उपचारका साउन २ मा हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।

परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्‍यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६–६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३–३ जना, बर्दिया र सल्यानका २–२ जना तथा चितवन र बझाङका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।

उनीहरुमध्ये ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् । आजै २०७ जना डिस्चार्ज भएका छन् ।