कक्षा १२ परीक्षा असोजमा गर्ने तयारी

७ साउन, काठमाडौं । लामो लकडाउन पछि आजबाट खुलेको लकडाउन पछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका छौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्दै परीक्षाहरु स्थगित गरेको थियो ।

सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाइएको छ भने भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सबैभन्दा पहिले क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयहरुको सरसफाइ र निर्मलीकरण गरि सके पछि प्रक्रिया थाल्ने उनले बताए ।