राष्ट्रपतिले माधवकुमार नेपाललाई बोलाएर के भनिन्

साउन, काठमाडौं । अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट
भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए ।

राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप¥यो ।’ नेपाल केही नबोली सुनिरहे तर राष्ट्रपतिले थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ (केपी ओलीप्रति इंगित गर्दै) । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।

त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि अर्को कसैलाई पठाउनुपर्ला । त्यो अवस्थामा मैले पनि नयाँ व्यक्तिलाई राम्रोसँग हस्तान्तरण गर्न सकिनँ भने अलि मज्जा हुने छैन । मलाई नेकपाले एकताबद्ध हुँदै जिताएर यहाँ पठाएको हो । त्यसैगरी पार्टी एक बनिरहोस् र हिजोजस्तै भोलि पनि एक भएर नेकपाकै अर्को मान्छेलाई यहाँ पठाओस् भन्ने मेरो चाहना हो ।

नेपाललाई यो पनि भनियो, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ । अरुले सहजै खेल्ने मौका पाउँछन् । हिजो जस्तै भोलि पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ । पार्टीमा टुटफुट नआओस्, यही हो मेरो चाहना ।’

आजको जनआस्था साप्ताहिकमा समाचार छ