संस्थापक महासचिव पुष्पलालको ४२औ स्मृति दिवस

७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मरणमा ४२औँ स्मृति दिवस आज बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएको छैन ।

पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो ।
आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्याम बजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । २०७५ जेठ ३ गते भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ । उनको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुई तिहाइ जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।

समाचार रातोपाटीबाट