क्याबिनेटमा नै प्रधानमन्त्री परिबन्दमा परे

७ साउन, काठमाडौं । अरु बेलाजस्तो अस्ति साउन ५ गते सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे । अनि, सबै मन्त्री गलल हाँसे ।

‘अहिले देशव्यापी रुपमा बाढी, पहिरोले प्राकृतिक विपद् मच्चिएको छ । यस्तो बेलामा सबै राजनीतिक दल, संघसंस्थालाई त्यसतर्फ केन्द्रित हुन आह्वान गरौँ’ भनेर प्रधानमन्त्रीले बैठक शुरु गरे । अरु दिनभन्दा अलिक बढी थकितजस्तो देखिएका उनले पहिला–पहिला विभिन्न मन्त्रीलाई उनीहरूले ल्याएको प्रस्तावबारे सोधखोज र टिप्पणी गर्थे । तर, सोमबार त्यस्तो केही भनेनन् ।

शुरुमा विपद्बारे केही कुरा राखेपछि बैठक सीधै एजेण्डामा प्रवेश गर्यो । मन्त्रीहरूका कान आ–आफ्ना एजेण्डा अगाडि आउँदा ठाडो हुने र अर्काको एजेण्डामा खासै चासो हुँदैन । तर, सोमबारको बैठकको बीचमा एउटा यस्तो एजेण्डा आइदियो जसले मन्त्रीहरूलाई ‘के हो र कसो हो ?’ भन्नेखालको जिज्ञाशा उत्पन्न गरायो । तर, त्यस्तो बैठकको मर्यादा नै कस्तो हुन्छ भने, प्रधानमन्त्रीलाई सोध्न नमिल्ने !

कुनै एउटा प्रस्ताव पास गर्नैपर्ने खालको थियो । यसमा सबै मन्त्रीको कान ठाडो भइसकेको थियो । तर, त्यस्तो प्रस्ताव उल्लेखित कागज पन्छाउँदै प्रधानमन्त्रीले भने, ‘यो राष्ट्रपति कहाँ परिबन्दले लानैपर्ने भयो भने जस्तो केही होइन ।’ उनले यति भनेपछि मुख्य सचिवसहित सबै मन्त्रीहरू एकै तालमा गलल हाँसे ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।