लकडाउन हट्यो जोखिम बढ्यो

६ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै सम्बन्धित विज्ञहरूले यसबाट कोरोना संक्रमणको जोखिम थप बढेको बताएका छन् । कोरोना जोखिम कायम रहेकाले अब आफैं सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।

’लकडाउन सकिए पनि कोरोना सकिएको छैन। आगामी दिनमा थप सजग हुनुपर्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मन्त्रिपरिषदको निर्णयपछि सेतोपाटीसँग भने, ’लकडाउन सकियो भन्दैमा कोरोना नै सकिएजस्तो व्यवहार नदेखाऔं। शारीरिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्कको अनिवार्य प्रयोग गर्न हेलचेक्र्याइँ नगरौं ।’

सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

विज्ञहरूले भने काठमाडौंजस्तो ठूलो जनघनत्व भएका ठाउँमा यसले थप जोखिम बढेको बताएका छन् । यहाँ संक्रमण कायम रहेकाले लकडाउन अन्त्य भएको अवस्थामा थप सतर्क हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याए ।

’अधिकांश संक्रमितलाई लक्षण देखिएको छैन। कोबाट कसलाई संक्रमण सर्छ भन्ने टुंगो छैन। अब हरेक व्यक्तिलाई संक्रमित हो कि भन्ने सोचेर आफैं सावधानीका उपाय अपनाउनुपर्छ,’ डा. पुनले भने ।

उनले लकडाउन अन्त्य गर्ने सरकारको निर्णय भने स्वाभाविक नै रहेको तर्क गरे । ’तथ्यांकले संक्रमण कम हुँदै गएको देखाएको छ । लकडाउन गरेको धेरै भइसकेको थियो । यो दीर्घकालीन उपाय पनि होइन,’ उनले भने, ’कुनै न कुनै दिन त हामीले आफैं सतर्क भएर सावधानीका उपाय अपनाउनैपर्ने थियो ।’

लकडाउन खुलेको नाममा व्यक्तिगत सावधानीमा सम्झौता गरियो भने आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना उनले औंल्याए । यस्तो अवस्थामा बढी जोखिममा रहेका वृद्धवृद्धा र दीर्घरोगका बिरामीलाई सुरक्षित रहन उनले
सुझाए ।

’परिवारमा वृद्धवृद्धा छन् भने उहाँहरूलाई सुरक्षित राख्नुपर्छ । यसमा युवा उमेरका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुन्छ । कामको सिलसिलामा धेरै बाहिर घुलमिल हुने र रोग सार्नसक्ने कामकाजी युवा समूहले नै हो । उहाँहरूले आफ्नो परिवारमा रहेका त्यस्ता जोखिमपूर्ण सदस्यहरूको ख्याल राख्नुपर्छ,’ डा. पुनले भने ।

लकडाउन अन्त्यपछि जोखिम बढे पनि संक्रमण ठ्याक्कै कुन अवस्थामा पुग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने उनले बताए ।

सरकारलाई कोरोना रोकथाममा सुझाव दिइरहेका नेपाल मेडिकल काउन्सिलका अध्यका डा. भगवान कोइरालाले पनि लकडाउन अन्त्यको निर्णय ठिक रहेको भन्दै अब सतर्कता र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने बताएका छन् ।

’समुदायमा संक्रमण फैलिनसकेकाले लकडाउन अन्त्य गर्नु ठिकै हो, तर अब थप सतर्कता अपनाउनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ’लापरबाही गरियो भने फेरि ह्वात्तै फैलिन्छ ।’

सरकारले अब दुई–दुई साताको अवस्था विश्लेषण गरेर थप निर्णय लिँदै जानुपर्ने उनको सुझाव छ । ’संक्रमण दर बढ्यो भने जुनसुकै अवस्थामा थप कडाइ गर्ने गरी निर्णय गर्न सरकार तयार रहनुपर्छ,’ उनले भने ।

पछिल्लो समय संक्रमण घटे पनि समुदायमा फैलिएको छैन भनेर ढुक्क नबस्न उनले भनेका छन्। लकडाउन खुलेपछि होटल, रेस्टुरेन्ट, जिमजस्ता बढी आवतजावत हुने स्थानमा थप सतर्कता अपाउनुपर्ने उनले बताए ।

त्यस्तै मापदण्ड पालना नगर्नेहरूलाई कानुनको दायरामा ल्याउन पनि विज्ञहरूले जोड दिएका छन् । लापरबाही र मापदण्ड पालना नगर्दा नै संक्रमण फैलिने भन्दै सरकारले यी कुराको कडा निगरानी गर्नुपर्ने उनीहरूले बताएका छन् ।

जनस्वास्थ्यविद् डा. राजेन्द्र बिसीले अबको संक्रमणको जोखिम भनेको वृद्धावृद्धा र दीर्घरोगीहरूलाई जोगाउनु रहेको बताए ।

’संक्रमणको दर त बढ्छ नै, तर बढी जोखिम बुढापाका र दीर्घरोगीहरूलाई छ,’ उनले भने, ’अधिकांश संक्रमितलाई लक्षण देखिँदैन अनि लक्षण नदेखिएपछि मानिसहरू कसरी परीक्षण गर्न जान्छन् ? परीक्षण नभएपछि उनीहरू आफ्ना परिवारमा रहेका बुढापाका र दीर्घ रोगीको सम्पर्कमा पुगे भने सबभन्दा जोखिम त्यहाँ रहन्छ ।’

उनले अगाडि भने, ’अब जे गर्नुपर्छ मैले नै गर्नुपर्छ भन्ने सोच सबैले लिनुपर्यो । मेरो परिवारलाई म आफैं बचाउँछु भनेर सोच्नुपर्यो। यसरी सोचियो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयको विज्ञ टोली भने सरकारको निर्णयबाट असन्तुष्ट छ ।

’हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन,’ विज्ञ टोलीका एक सदस्यले सेतोपाटीसँग भने, ’कम्तीमा दुई–दुई साताको अवस्था विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो ।’

उनले सबैले आ(आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए । ’पर्यटन व्यवसायी, उद्योगी सबैले आ(आफ्नो स्वार्थ राखे । त्यसैले पनि सरकारलाई एकैचोटि लकडाउन अन्त्य गर्न दबाब भयो,’ उनले भने ।

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ’सिसिएमसी’ को सिफारिसमा गरेको हो । सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन ।

’हामीले त अहिले एकैचोटि सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं । मोटरसाइकलमा पनि केही समय जोर–बिजोर प्रणाली यथावत् राखौं भनेको हो,’ उनले भने, ’तर यहाँ सबैको आ–आफ्नै स्वार्थले यो कायम रहन सकेन। हामीले कम्तिमा साउन २० गतेसम्म अहिलेको स्थिति यथावत् राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं ।’

सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ । अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भए पनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन् ।

लकडाउन एकैपटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । ’काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन । कति मानिस लुकिछिपी प्रवेश गरेका छन्,’ विज्ञ समूहका एक सदस्यले भने, ’कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो । त्यस्ता व्यक्तिको परीक्षण भएको छैन । त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ ।

समाचार सेतोपाटीबाट