केरुङ च्छो ताल फुट्न सम्भावना भोटेकोशी आसपासमा सर्तक रहन आग्रह

५ साउन, काठमाडौं । अविरल वर्षाले पानीको वाहा बढेपछि चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ ।चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘त्यही भएर हामीले पनि सतर्कता अपनाउनु पर्ने भएको छ ।’

पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पु¥याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पालेपनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए । उनका अनुसार केरुङ च्छो (दूधपोखरी) फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।

तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको छ ।