खुमलटारमा चार नेतासँग अध्यक्ष प्रचण्डको छलफल

४ मंसिर, काठमाडौं । मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउने प्रयास गरेका छन् ।

प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । तीननेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका छन् ।

आफ्नै समूहका नेताहरु असन्तुष्ट बनेपछि प्रचण्डले आइतबार बिहान उनीहरुसँग परामर्श गरेका हुन् ।

यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य रामबहादुर थापा बादल भने खुमलटारको छलफलमा सहभागी भएनन् । बादलले ओलीको प्रस्तावमा समर्थन जनाइसकेका छन् । यद्यपि उनी अन्य काममा व्यस्त भएकाले छलफलमा आउन नभ्याएको खुमलटार स्रोतको दाबी छ ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले भने प्रचण्डलाई एक्लारएक्लै भेटेका छन् ।

ओलीले तत्काल आफूमाथिको संकट टार्न महाधिवेशनको बल्छी फालेको माधव नेपाल पक्षको बुझाइ छ । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो ।

अपराह्न स्थायी कमिटी बैठक बस्ने भनिए पनि अन्योल कायमै छ ।

बैठकमा महाधिवेशन लगायत प्याकेज सहमतिको प्रस्ताव पेस गर्ने भनिए पनि प्रचण्डले आफ्नो समूहका नेतासँग परामर्श थालेपछि बालुवाटार झस्किएको बुझिएको छ ।