म्याग्दी बाढी पहिरो पिडितलाई संगम म्याग्दी र कदम म्याग्दीद्धारा सहयोग

१ साउन, बेनी । लगातार आएको बर्षातले म्याग्दीमा भएको बाढी पहिरोबाट विस्थापित जिल्लाको धवलागिरी गाउँपालिकामा घरबार बिहीन भएका परिवारलाई गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा कार्यरत सामाजिक संस्था संगम म्याग्दी र कदम म्याग्दी सामुदायिक विकास परियोजनाले संयुक्त रुपमा नौ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको राहत सामग्री उपलब्ध गराएको छ ।

परियोजनाले आफ्नो कार्यक्षेत्रमा पर्ने म्याग्दीको मराङ र ताकमका पहिरो पिडितका लागि खाद्यान्न, सरसफाई र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।म्याग्दीका बाढी, पहिरो पिडितलाई खाद्ययन्न लगायत अरु सामाग्री वितरण गएको जानकारी कदर न्यूजका गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीले जानकारी दिएका छन् ।

कदर ब्यूरो कार्कीका अनुसार संगम मार्फत बाढी÷पहिरो परिवारलाई दुई लाख १६ हजार ६८५ रुपैयाँ मूल्य बराबरको १०० बोरा चामल, २५० केजी दाल, १५ कार्टुन खाने तेल, १०० केजी नुन र १०० केजी चिनी सहयोग गरेको छ । ६९ हजार ७११ रुपैयाँ मूल्य बराबरको कोलगेट, ब्रस, स्यानिटरी प्याड दुई÷दुई सय, ४०० मिटर म्याटेस र एक लाख ७२ हजार १६१ रुपैयाँ बराबरको ९ गोटा क्यानोफी सहयोग गरेको जानकारी गराएका छन् ।

त्यस्तै म्याग्दीमा नै कार्यरत कदम म्याग्दी मार्फत बाढी ,पहिरो पिडितलाई दुई लाख ४१ हजार ७३३ रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेको छ । सो संस्था मार्फत् २२५ गोटा स्यानीटरी प्याड, ६१० गोटा कोलगेट, ६१० वटा ब्रस, ६१० पिस लुगा धुने साबुन, ३०५ पिस नुहाउने साबुन, १५ वटा बाल्टी, १५ वटा जग, ८ वटा फिल्टर, ५० प्याकेट ल्याक्टोजिन, ३५० थान पेन्टि, १६ वटा टेन्ट र दुई लाख १४ हजार ७६० रुपैयाँ मूल्य बराबरको चार वटा अस्थाई शौचालय बनाउन पुग्ने हार्डवयर्सका सामग्री समेत सहयोग गरेको छ ।

सामानको विवरण हस्तान्तरण कार्यक्रममा संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र कदम म्याग्दीका परियोजना फोकल पर्सन हरिप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

धवलागिरी गाउपालिकाको ७ वटै वडामा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास परियोजना मार्फत संगम म्याग्दीले शिक्षा, जिविकोपार्जन र अत्तिरिक्त क्रियाकलाप तथा कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा कार्य गर्दै आएका छन ।