जरुरी काम बाहेक सार्वजनिक यातायातमा सवार नर्गन आग्रह

३० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ ।

आज मन्त्रालयमा गरिएको ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण गराउन सक्ने हेक्का राख्न आग्रह गरेका हुन् ।

यसरी यात्रा गर्दा हरेक यात्रुले कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको सरसफाइ गर्न मन्त्रालयको सुझाव छ ।

साथै, आफूलाई कोभिड–१९ को संक्रमण भएको, संक्रमणको शंका लागेको वा त्यस्तो लक्षण देखिएको अवस्थामा यात्रा नगरिदिन मन्त्रालयले अपिल गरेको छ ।

केही दिनअघि मात्र सरकारले उपत्यकासहित सम्बन्धित जिल्लाभर सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

उपत्यकामा पनि केही व्यवसायीले यातायात सञ्चालन गरे पनि कतिले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै यातायात सञ्चालनमा ल्याएका छैनन् ।

सार्वजनिक यातायात सञ्चालनमा आउने भएसँगै विज्ञहरूले समेत संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।