कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र

सांसद , गगन थापा

३० असार, काठमाडौं । हिजो आज प्रधानमन्त्रीले केपी शर्मा ओलीले कुनै न कुनै विषयमा विवादस्त अभिव्यक्ति दिन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले ’कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको’ बताएका छन् ।

हिजो सोमबार प्रधानमन्त्रीले ’राम जन्मभूमि’ अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए । हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो ।

प्रधानमन्त्रीको उक्त भनाइको सर्वत्र आलोचना भइरहेका बेला सांसद थापाले प्रधानमन्त्री ‌ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले ‘अन्टसन्ट’ बोल्ने गरेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो,’ सांसद थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र !’

सांसद थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिन पनि आग्रह गरेका छन् ।

‘नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस्। अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्,’ थापाले भनेका छन् ।

सांसद थापाको फेसबुकबाट यस्तो अभिव्यक्ति दिएका छन् :

प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ’जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगका रूपमा लिएको पाएँ ।

मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।

प्रमलाई राम्रोसँग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ ।

त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ’कथित राष्ट्रवादी’ बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो ।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ ।

यसलाई हल्का रूपमा नलिऔं । यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं । प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो ।

प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू, राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।

सेतोपाटीबाट