एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिए

एजेन्सी

२७ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या १ करोड २४ लाख ५९ हजार ३ सय ६३ छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५९ हजार ४ सय ३९ छ ।

अमेरिकामा सबैभन्दा धेरै ३१ लाख ८१ हजार ८ सय ४६ जना संक्रमित छन् । कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा १८ लाख बढी संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।