अनरिनको राजमार्ग खुलाउन समामुखको पहल, सो क्षेत्रमा ११ ठाउँमा क्षति

२७ असार, काठमाडौं । गत बुधबार राति आएको बाढीपहिरोले अवरुद्ध भएको अरनिको राजमार्ग तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल सुरु भएको छ ।

सडक सन्चालनको तयारीबारे सभामुख अग्नि प्रसाद सापकोटाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

बिहीबार मात्रै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको जम्बु क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएका सभामुख सापकोटाले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँगको छलफलमा तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्न पहल जारी राखेको जानकारी गराए ।

छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गर्नुपर्ने बताए ।

‘११ ठाउँमा ठूलो क्षति, बाटो बनाउने काम जारी’

यही असार २४ र २५ गते राति सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिए । कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सडक विभागका महानिर्देशक केशव कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा ठूलो क्षति भएको जानकारी गराउँदै अवरुद्ध बाटो बनाउने काम जारी रहेको बताए । कुनै अवरोध नभए केही दिनमै बाह्रबिसेसम्मको बाटो सुचारु हुने उनले बताए ।

खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज बनाउनुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि विस्तृत विवरण आउने जानकारी गराउँदै महानिर्देशक शर्माले स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने बताए ।