प्रहरी आईजीपीलाई बाधाई दिन प्रधानसेनापति नक्सालमा

२६ असार, काठमाडौं । हिजो मात्रै आईजीपीमा बढुवा भएका नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई दिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन् ।

हिजो बिहीबारबाट कार्यभार सम्हालेका क्षेत्रीलाई बधाई दिन प्रधानसेनापति थापा आज शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका हुन् ।

उनीहरूबीच शिष्टाचार भेट भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिएका छन् ।

डिआइजी शाहीका अनुसार उहाँ बधाई दिन आउनुभएको हो । यो दुई संगठन प्रमुख बीचको शिष्टाचार भेट हो । यो पहिलो पटक होला प्रधानसेनापति आइजिपीलाई बधाई दिन आएको ।
भेटघाटमा दुवैले संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल गरेको नेपाल प्रहरीले बताएको छ ।

प्रधानसेनापति थापाले आइजिपी क्षेत्रीलाई अनुभव र ज्ञानको संगालोका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रूपमा खुकुरी समेत प्रदान गरेका थिए ।

महानिरीक्षक क्षेत्रीले पनि प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।