शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारवाही गर्ने 

२४ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन् ।
अहिले उपत्यकाका तीन वटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा छ । जसमा वीर, टिचिङ र पाटन अस्पताल छन् ।
यी अस्पतालहरूले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न पाउँछन् । जसको लागि मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अहिले यी तीन वटा अस्पतालबाट ५ सय बढी व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन् ।
त्यसरी परीक्षण गराउनेमा विदेश जाने, आपत्तकालीन शल्यक्रिया गराउनुपर्ने व्यक्तिहरू छन् ।
सरकारले लक्षण देखिएका व्यक्तिको मात्र पिसिआर परीक्षण गर्ने जनाएपछि यी मापदण्डमा नपरेका व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गर्दै आएका छन् ।