आज देशभर २५५ जनामा कोरोना भाइरस संक्रमण भएको छ

२४ असार, काठमाण्डौं । आज बुधबार कोरोना भाइरसका संक्रमित २५५ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज मन्त्रालयमा गरिएको ब्रिफिङमा आज देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा २५५ जनामा पुष्टि भएको बताएका छन् ।

यो सँगै कोरोना संक्रमित १६ हजार चार सय २३ पुगेका छन् ।

देशभरका क्वारेन्टिनमा २५ हजार ४० जना मानिसहरू छन् । कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

आज धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित अहिले भेटिएका छैनन् ।

महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सय जनाभन्दा धेरै कोरोना संक्रमित छन् ।

बुधबार काठमाडौं उपत्यकाभित्र २३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा १६ र ललितपुर जिल्लामा सात जना संक्रमित थपिएका छन् ।