२३ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीको ल२८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो ।
थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको छ ।
थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
को हुन् थापा ?
२३ मंसिर २०२५ मा भक्तपुरको कटुञ्जेमा जन्मिएका थापा पूर्वडीआईजी शम्भु थापाका छोरा हुन् । उनी संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।
प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेदेखि थापाले अधिकांश बढुवामा आफूलाई पहिलो नम्बर वरियताको अधिकृतका रुपमा उभ्याउँदै आएका थिए ।