युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपालीको रोजगारी चट्

२३ असार, काठमाण्डौ । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड गु्रप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।

तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरूले आफ्नो समस्याबारे युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् ।

एकैपटक ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको छ । यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका एक अधिकारीले बताए ।

उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ ।

आफूहरूलाई छिटो नेपाल फर्काउनुपर्ने रोजगारी गुमाएका नेपाली जयराम नेपालले बताए । कम्पनीले खान दिए पनि लामो समय विदेशमा रोकिँदा समस्या थपिँदै जाने उनको भनाइ छ ।

यूएईमा हाल करिब २५ हजार नेपाली रोजगारी गुमाएर फर्किनुपर्ने अवस्थामा छन् । हालसम्म ४ हजार मात्रै फर्किएका छन् ।

कोरोना महामारीको असरपछि रोजगारदाता कम्पनी आर्थिक संकटमा परेका छन् । जसका कारण उनीहरूले विदेशी कामदार कटौतीको नीति लिएका छन् ।

समाचार अनलाइन खबरबाट