कोरोनाबाट मरेको युवकको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयद्धारा अवरोध

२० असार, गोरखा । कोरोना संक्रमितबाट मरेका एक पुरूषको शव व्यवस्थापनमा गोरखामा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । ती पुरूषको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।

४०÷५० जनाको संख्यामा मानिसहरू आएर अवरोध गरिएको छ ।
स्थानीय बासिन्दाको अवरोधपछि गोरखा अस्पतालमा रहेको शव त्यसतर्फ लैजान सकिएको छैन । गोरखा सदरमुकामबाट करिब १८ किमी टाढा लुदीरदरौंदी दोभानमा शव व्यवस्थापन गर्न लागिएको हो । शव व्यवस्थापनका लागि खाल्डो खन्न जेसिबी पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका हुन् ।