प्रधानमन्त्री ओली बिरुद्ध एकजुट भएर अगाडी बढ्ने झम्सिखेलको निर्णय

१७ असार, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका
छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

स्थायी समिति बैठकमा बोल्ने पाँचै नेताले गरे ओलीको आलोचना
बैठकमा सहभागी नेपाल निकट एक स्थायी समिति सदस्यले ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको छ । करिब ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी नेताहरुको बैठकमा अबको साझा रणनीति समेत बनाइएको ती नेताले बताएका छन् ।

केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।

विशेषतः आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएपछि नेकपाभित्र केही महिनायता मत्थर भएको विवाद फेरि ब्यूतिएको हो ।

विवाद चर्किँदै जाँदा मंगलबार र बुधबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीको आलोचना गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

आन्तरिक राजनीति पेचिलो बन्दै गएको बेला आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।