सरकार ट्याक्सी कुदाउन दिइयोस्, बालबच्चा भोकै छन्, बैकको किस्ता तिर्न सकिएन

१६ असार, काठमाण्डौ । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भनेर जारी रहेको लकडाउनले गर्दा आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले दुखेसो पोखेका छन् ।

यस अवधिमा सरकारले कर पनि मिनाहा नभएको र बैंकले किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको बताएका छन् । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि समस्या भएको भन्दै व्यवसायीले शान्तिपूर्ण प्रदर्शन गर्न थालेका छन् ।

लकडाउनका कारण मारमा परेका ट्याक्सी व्यवसायीको पक्षमा कुनै उचित व्यवस्था नगरेको भन्दै ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने समेत बताएका छने ।

कोरोना रोगथामका लागि भनेर सरकारले लकडाउन गरेको तीन महिना भइसक्यो । अहिले लकडाउन सार्वजनिक यातायातलाई मात्र लागेको छ । सवारीसाधन हुने व्यक्ति निर्वाध रुपमा हिँडिरहेका छन् । सामान्य नागरिकलाई लकडाउन मात्र लागेको छ । अब कसरी बाँच्ने होला ? राज्यले हामीलाई बुझेन ।
संक्रमणको कुरा गर्ने हो भने निजी गाडीमा हिँड्नेलाई कोरोना हुने र ट्याक्सीमा हिँड्नेलाई नहुने भन्ने होइन । त्यसैले व्यस्थित तरिकाले पछाडि दुई जना राखेर ट्याक्सी चलाउन पाउनु पर्छ भन्ने हाम्रो माग हो ।

स्यानिटाइजर, मास्कसहित पछाडि दुई जना मात्र राखेर उपत्यकाभित्र कुदाउन पाऊँ भनेर हामीले सरकारलाई ज्ञापन पत्र पनि बुझाएका थियौं । हिजो सोमबार रातिको मन्त्रिपरिषद बैठकबाट मोडालिटी फेरिएला भन्ने थियो । तर, कुनै नयाँ निर्णय आएन ।

बरु साउन सात गतेसम्म पुनः अहिलेकै साविकै गरी लडकाउन जारी गर्ने निर्णय भयो । अहिले हाम्रा बालबालिका प्रताडित छन् । घरमा खाने चिज छैन । बालबालिका भोकभोकै छ । गाडी सडकमा निकाले दिनभर राखिदिन्छ । अर्को समस्या हुन्छ । गाडीबाहेक आम्दानीको अर्को स्रोत छैन ।

कतिपय आत्महत्या गर्ने अवस्थामा पुगिसकेका छौं । रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थिति आइसक्यो । आज कमाएर बेलुका बाँच्नु पर्ने मान्छेलाई राज्यले अलिकति पनि सहयोग गरेको छैन ।

गाडी, घर, जग्गा बैंकले लिलाम गर्ने भो । बोलाएको बोलाइ छ । यस्तो अवस्थामा रोगलाई बिर्सिएर हामी सडकमा निस्किनुको विकल्प थिएन । सरकारले हाम्रो समस्या बुझिदियोस् ।