पैसाको लोभमा बाबु छोरी मिली बुहारीको हत्या

१५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया सीता थापालाई सार्वजनिक गरेको हो ।

छोराको मृत्युसँगै परिवारमा किचलो

सुस्मिताका पति अर्थात् प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २६ असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यससँगै थापा परिवारमा किचलो सुरु भयो ।

परिवारका सदस्यहरूले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै मानसिक यातना दिँदै आएका थिए ।

त्यो विवादमा पैसा जोडिएको थियो । रुपेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएका कारण क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै, क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो ।

यो रकमको हकदारका रूपमा बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिताको नाम थियो । तर प्रकाशले सबै रकम दिनुपर्ने बताए । यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

यही दुई कारणले परिवारका सदस्यहरू मिलेर सुस्मिताको हत्या भएको देखिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए ।

कसरी भयो हत्या ?

प्रहरीका अनुसार घटना योजनाबद्ध रूपमा भएको देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।

उनी भुइँमा लडिन् । त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि उनी गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आइन् । तर बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयास गरे । भुइँमा लागेको रगत सफा गरे, कपडामा लागेको सबै रगत फखाले ।

छोरीलाई बाहिर पठाएपछि प्रकाशले भित्रबाट चुकुल लगाए र आल्मुनियमको स्लाइडिङ झ्यालबाट झ्यालबाट बाहिर निस्किए ।

भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो । प्रहरीका अनुसार घटना भएको दिन नन्द दूर्गा भने काठमाडौंमा रहेको पाइएको छ ।

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरूलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैदसम्म सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।
समाचार अनलाइन खबरबाट