हालको साविकै अवधिको लकडाउन साउन ७ गतेसम्म थप

१५ असार, काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको बताइएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको छ । ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको बताइएको छ ।

यद्यपी निश्चित ठाउँको जोखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

मन्त्रीका अनुसार, ‘कोरोनाको जोखिम अवस्था हेरेर लकडाउन खुकुलो या कडा गर्नेबारेको निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्नेछन् ।

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो ।

जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दार बाहेकका हवाई उडान बन्द छन् ।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा
छन् ।

लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो ।

तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो ।