पसल खुलेर पनि व्यावसाय नभएकाले लकडाउनभरीको भाडा नलिन माग

१३ असार, काठमाडौं । गएको चैत्र ११ गतेबाट जारी लकडाउन अहिले पनि खुकुलो गरी जारी नै रहेको छ । यस अवधिमा कुनै पनि व्यावसाय संचालन भएनन् र बन्द नै रहे । व्यापारीहरु मारमा परेकाले नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ ।

लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।

महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले बार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केही दिनको मात्रै नभई लकडाउन अवधिभर पूरैको घरभाडा मिनाहा गर्नुपर्ने बताएको छ ।

महासंघ माताहतको खिचापोखरी व्यापार संघका निवर्तमान अध्यक्ष मनोजबावु श्रेष्ठले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै यतिबेला घरभाडा लिन नहुने आग्रह गरेका छन् ।