१२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण

१३ असार, पोखरा । कोभिड –१९ का संक्रमित थपिने क्रममा आज बिहान गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष छन् । सोही गाउंपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाकै विरुवा गाउंपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १र१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै, बागलुङमा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठेखोला गाउंपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष छन् । बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष रहेका छन् ।