अमेरिकामा २ करोड मान्छेमा कोरोना संक्रमण भइसकेको अनुमान

एजेन्सी १२ असार, न्यूयोक । अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा पनि २ करोड मानिस कोरोनाबाट संक्रमित भइसकेको अनुमान गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले संक्रमितको वास्तविक संख्या रिपोर्ट गरिएभन्दा १० गुना बढी हुनसक्ने बताएको छ ।

संक्रमित र सोका कारण अस्पताल भर्ना हुने बढेपछि टेक्सस राज्यले आफ्नो लकडाउन पूर्णरूपमा खोल्ने योजना फिर्ता गरेको बेला यो तथ्यांक आएको हो ।

अमेरिकामा हालसम्म २४ लाख बढी मानिसहरूलाई संक्रमण पुष्टि भइसकेको छ भने १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाका केहि दक्षिणी तथा पश्चिमी राज्यहरूमा पछिल्ला दिनमा कीर्तिमानी संख्यामा संक्रमित थपिएका छन् ।

युनिभर्सिटी अफ वासिङटनले अक्टुबरसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पुग्ने जनाएको छ ।

यसैगरी उसले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा भने सो संख्या १ लाख ४६ हजारमा सिमित हुनसक्ने जनाएको छ ।

’हाम्रो अहिलेको उत्कृष्ट अनुमान अनुसार एउटा केस रिपोर्ट भइसक्दा  १० जना संक्रमित भइसकेका हुन्छन्’, सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले भने ।

लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिएकाले यस्तो भएको उनको भनाइ छ ।

हामीले अपनाएको विधिबाट हामीले मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतस् महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला’, उनले भने ।

डा. रेडफिल्डले ५ देखि ८ प्रतिशत जनसंख्या भाइरसको सम्पर्कमा आएको बताउँदै अमेरिकीहरूलाई उनले सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र हात धुन आग्रह गरेका छन् ।