नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरु

१२ असार, काठमाडौं । अस्ति बुधबार शुरु भएको नेकपा स्थायी कमिटी बैठक आज पुनः सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राख्नेछन् ।

जेठ १० गतेदेखि सुरू भएको बैठकमा सरकारको काम,पार्टी एकताका बाँकी कामहरू,एमसिसी परियोजना लगायतका एजेण्डामा छलफल हुने तय भएको छ ।

यसपटकको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन नभएकाले एजेण्डामात्रै तय गरिएको हो ।

यसअघि जेठ १० गते बसेको पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको आफ्नाविरूद्ध गुटबन्दी गरिएको आरोप लगाएका थिए ।

त्यस्तै, अर्का अध्यक्ष प्रचण्डले सरकारमा रहनेहरूलाई घमण्ड बढ्दै गएको आरोप लगाएका थिए ।