जन्मेको ६ हप्तामा झाडापखालाबिरुद्ध रोटा खोप लगाउन शुरु

१२ असार, काठमाडौं । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ ।

खोप शाखा प्रमुख डा. गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।

चिकित्सकका अनुसार पांच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । देशभरका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोगविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरसविरुद्धको खोपलाई नियमित अभियानअन्तर्गत अघि सारेको थियो ।

नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइंदै आएकामा अब रोटा भाइरसबाट हुने पखालाविरुद्धको खोप थप गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमले जानकारी दिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।