आज बिहान पाल्पामा ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्

११ असार, बुटवल । कोरोना भाइरसा संक्रमित थपिने क्रममा आज पाल्पा जिल्लाका ९३ जनामा संक्रमण भएको पुष्टि छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले आज बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउंबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १०८ जना नयां संक्रमित थपिएका थिए ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयले हिजो बुधबार राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो ।

जिल्लागत रुपमा कपिलवस्तुमा ७०४, बांकेमा ३५०, पाल्पामा ३३९, दाङमा ३२८, रुपन्देहीमा २६६, अर्घाखांचीमा २५०, गुल्मीमा २४७, प्युठानमा १८४, बर्दियामा १५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।