वडाध्यक्ष सहित २३ जनालाई थुनामा पठाईयो

नावाबालक भएको हुनाले केटी र भाईलाई सुधार गृहमा

१० असार, काठमाण्डौं । रुकुम पश्चिमको चौरजहारीमा जेठ १० भएको ६ जना हत्या काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

आज बुधबार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ । घटनाको ठिक एक महिनापछि अदालतले यो आदेश दिएको अधिबक्ता रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस आज बुधबार सकिएको हो । ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए ।

यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउंकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुंदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

जेठ १० गते जाजरकोटका– ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको काण्डमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउंका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।
जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको शव मारेर नदी फालिएको तर शवहरु विभिन्न समयमा भेरी नदीमा फेला परेको थियो ।