आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो धनगढीबाट चुनावी सभा सुरू गरेको छ। चुनावी सभालाई रास्वपाले परिवर्तन उद्घोष सभा भनेको छ।
सभामामा पार्टीका तर्फबाट उम्मेदवार बनेका र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गरेका छन्।
हिजो भएको सभामा वरिष्ठ नेता बालेनले जम्मा तीन मिनेट मात्र भाषण गरेका छन् ।
धेरै नबोल्ने नेताका रुपमा चिनिएका बालेन सामाजिक संजालमा भने सक्रिय रहन्छन् ।
बालेनले सुरुमै सुदूरपश्चिमी भाषामा सम्बोधन सुरु गरेका थिए । उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको बताए। बरू भोट नदिए हुने काम चाहिँ दिन भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्। तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के–के काम छ लिस्ट बनाउनुस् र दिनुस्, उनले भने।
वरिष्ठ नेता बालेनले बोल्ने क्रममा रास्वपाको एजेन्डाको कुरा समेत उठाएका थिए ।
खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो, उनले भने।
विकास निर्माणको काम गर्दा अघिल्ला सरकारले आफ्नो पार्टीको मतदाता बस्ने ठाउँमा काम गर्ने अन्यत्र नगर्ने प्रवृत्ति सुनाए र रास्वपा सरकारमा जाँदा त्यसो नहुने प्रतिबद्धता व्यक्त गरे।
ुबाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ, वरिष्ठ नेता बालेनले भने।
वरिष्ठ नेता बालेनले सुदूरपश्चिमलाई विकासको दृष्टीले नजिक बनाउने प्रतिबद्धता व्यक्त गरे।
अघिल्ला सरकार र त्यसमा सहभागी दलहरूले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज नदेखेर स्वीट्जरल्याण्डको कुरा गर्ने गरेको बालेनको भनाइ छ।
देशलाई स्वीटजरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहिँ छ। किन बनाउनुपर्यो। रामारोशन यहिँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। किन बनाउन पर्यो स्वीट्जरल्याण्ड। माल भाको चाल नपाको पर्यौं। भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग।सुरूमा गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ ।

