आइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ।
समूह चरणका केही खेलहरू बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुई–दुई टोलीको टुंगो लागेको हो।
समूह एु का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहमा भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छ।
समूह चरणका चारै खेल जितेर भारत शीर्ष स्थानमा हुँदै सुपर–८ प्रवेश गरेको छ। पाकिस्तानले भारतबाहेक सबै देशलाई पराजित गरी ६ अंकसहित सुपर–८ मा प्रवेश गरेको छ।
अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले १ खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको छ।
समूह बी बाट श्रीलंका र जिम्बाब्वे सुपर–८ मा पुग्ने निश्चित भएको छ। यी दुवै टोलीले अब एक अर्काविरूद्ध खेल्न बाँकी छ। जित्ने टोली समूह विजेता हुँदै र हार्ने टोली उपविजेता हुँदै सुपर–८ मा पुग्नेछ।
यो समूहबाट आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिनेछ।
समूह सी बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर–८ मा पुग्ने पक्का भएको छ। वेस्ट इण्डिजले इटालीसँग खेल्न बाँकी छ। यद्यपि ऊ ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। इंगल्याण्डको पनि ६ अंक छ।
स्कटल्याण्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।
समूह डी बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर–८ मा पुग्ने पक्का भएको छ। यी दुवै देशले चार वटै खेल खेलिसकेका छन्।
दक्षिण अफ्रिकाले ४ खेल जित्दा न्यूजिल्याण्डले ३ खेल जित्यो। यो समूहबाट अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा बाहिरिएका छन्।
सुपर–८ को खेल शनिबारदेखि हुनेछ।

