ढुङ्गासहितको पहिरो खस्न थालेपछि तातोपानी नाका अबरुद्ध

९ असार, मेलम्ची । नेपाल–चीन जोड्ने तातोपानी नाका अबरुद्ध भएको छ । सो सडक खण्डमा पहिरो गएपछि तातोपानी नाकातिर हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर छन् ।

ढुङ्गासहित पहिरो खस्न थालेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् ।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको
छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।