रिर्पोट नआउँदै घर पठाइएकी एक महिलाले अरुलाई पनि सारिन कोरोना

९ असार, गोरखा । कोरोना भाइरसको परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाबाट स्थानीयमा संक्रमण भएको
छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८ वर्षकी महिला भाउजुको उपचार गराएर चितवनबाट जेठ ८ गते फर्किएकी थिइन् । उनी र भाउजु दुबैलाई स्थानीय जनप्रतिनिधिले जनशक्ति निमाविको क्वारेन्टिनमा राख्यो ।

क्वारेन्टिनमा भारतबाट फर्किएकाहरुलाई पनि राखिएको थियो । २१ जेठमा स्वाब संकलन गरेर टेष्ट गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइयो ।

एकसातासम्म रिपोर्ट आएन । बरु सबैको रिपोर्ट नेगेटिभ आएको खबर आएको भन्दै २८ जेठमा घर पठाइयो ।

तर भोलिपल्ट चितवनबाट आएकी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनलाई आइसोलेसनमा राखेर सम्पर्कमा आएकाहरुको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताएका छन् ।

संक्रमित महिलाको क्लोज कन्ट्याकमा रहेकी ५ बर्षीया छोरी, ५८ बर्षकी आमा र छिमेकी बालक, जो तीन वर्षका छन्, तिनीहरुमा कोरोना संक्रमण देखिएको छ ।

क्वारेन्टिनबाट निस्किएपछि २८ वर्षकी महिला वडा नम्बर ६ अश्राङस्थित आफ्नो माइतीघरमा पसेकी थिइन् । ‘घर जाने बाटोमै माइती पर्छ, छोरीलाई पनि त्यहीँ छाडेकी रहिछन्’, त्यहीँ बसेर छोरीको कपाल कोरिदिने, सँगै खाजा खाने
गरिछन् ।

यो त प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय दैलेख, डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा आरडीटी गरेर वा १४ दिन क्वारेन्टिन बसेको आधारमा धेरैलाई घर पठाइएको छ । उनीहरुमध्ये थुप्रैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको घटनाले अव्यवस्थित क्वारेन्टिनमा बसेकालाई आरडीटी टेष्टको भरमा वा लक्षण नदेखिएको आधारमा पीसीआर टेष्ट नगरी घर पठाउँदा घरघरमा कोरोना संक्रमण पुग्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनीलाई पुष्टि गरेको छ ।

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित गलत टेष्ट नीतिकै कारण यो अवस्था आएको बताउँछन् । राम्रोसँग क्वारेन्टिन नगरी आरडीटी गरेर पठाउने तथा आइसोलेसनबाट पनि पीसीआर टेस्ट नगरी घर पठाउँदा दुर्घटना निम्तिने खतरा पनि बढ्न सक्छ त्यसतर्फ पनि सजक हुन जरुरी
छ ।