नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान १० बजेदेखि सुरू हुने भएको छ।
बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्याइएकाले दुई घन्टा ढिला गरी बन्द सत्र हुन लागेको हो।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरू हुनेछ भने १० बजेदेखि बन्द सत्र चालू हुनेछ।
यसबीच अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको थियो। फाइलहरू रूजु गर्नुपर्ने भएकाले यकिन विवरण भने सोमबार मात्र आउनेछ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ।
दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रि खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो।

