बिदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

नेकपा

६ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ ।

आज शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।