Breaking News

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको हिजोको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् ।

ललितपुरस्थित नक्खु कारागारमा रहेका उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ । अदालतको आदेशअनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र उनलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ ।