Breaking News

एमाले अध्यक्षमा निर्वाचितसँगै ओलीको हुंकार एमालेलाई छोएमा संसारमै महँगो पर्ने

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आज सकिएको छ । महाधिवेशनले निर्वाचनबाट नयाँ केन्द्रीय कमिट चयन गद्रै आज सकिएको हो । शपथ ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई कडा चेतावनी दिएका छन् । भृकुटीमण्डपमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले एमालेमाथि भौतिक आक्रमण, झूटा मुद्दा र पञ्चायती शैलीका गतिविधि भइरहेको आरोप लगाउँदै भने, ‘एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ । यदि झूटा मुद्दामा छुने प्रयास भयो भने सरकार ढल्छ, हामी ढालिदिन्छौँ ।’ ओलीले एमालेलाई छोएमा संसारमै महँगो पर्ने गरी देशव्यापी कडा जवाफ दिने चेतावनी दिए ।

‘फेरि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ,’ उनले भने । ओलीले लोकतन्त्रका लागि जीवनभर सङ्घर्ष गरेको पार्टीलाई बदनाम गर्ने प्रयासको आलोचना गर्दै वर्तमान सरकार चुनाव गराउनेतर्फ नभई षड्यन्त्रमा लागेको आरोप लगाए ।

जेनजी समूहसँग भएको सम्झौतालाई षड्यन्त्र भन्दै उनले यो सरकार निर्वाचनका लागि नभएको बताए । उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । देशमा अराजकता फैलाउने प्रयास भइरहेको भन्दै ओलीले कार्यकर्ता र नागरिकलाई सतर्क रहन आग्रह गरे ।