काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को रेसियोमा भागवण्डा गरेका छन् ।
शुक्रबार झन्डै ५ घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली र पोखरेल समूहले ६०/४० को रेसियोमा प्रतिनिधि मनोनीत गर्ने सहमति बनेको एक पदाधिकारीले बताए ।
‘ठ्याक्कै ६०/४० को रेसियो त भनिएन तर लगभग त्यस्तै हुनुपर्छ भन्ने बुझाई हो’, ती पदाधिकारीले भने, ‘सबैलाई मिलाएर लानुपर्छ, सबैको भावना समेट्नुपर्छ भनिएको छ ।’
मनोनीत गर्ने १०८ जनाको नाम नेताहरूले शनिबार बिहान टुङ्गो लगाएका छन् । शनिबार दुवै नेता बसेर मनोनीतको नाम फाइनल गरिएको
हो ।
महाधिवेशनका लागि २ हजार १५४ जना प्रतिनिधि निर्वाचित भैसकेका थिए । नेताहरूले १०८ मनोनीत गरेपछि ११औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सङ्ख्या २ हजार २ सय ६२ जना पुगेको छ । मनोनीतसहित सबै प्रतिनिधिहरूको नामावली अनलाइनमै प्रकाशित गर्ने तयारी भएको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलको भनाइ छ ।
मनोनीत प्रतिनिधिहरू विभिन्न भ्रातृ सङ्गठन, प्रदेश कमिटी,बुद्धिजीवी युवा विद्यार्थी,पेसागत महासङ्घ,सल्लाहकार परिषद् लगायतबाट समेटिएको छ ।
एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यो महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र नेता ईश्वर पाखरेलबिच प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ ।



