२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम अन्तर्गत आज कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ ।
सो पार्टीले यस अघि सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र मधेश प्रदेशमा एकता सन्देश सभा गरिसकेको छ । आज हुन गइरहेको कर्णाली एकता सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, नेता भिम रावल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यसअघि मंसिर १८ गते कर्णालीमा हुने भनिएको सन्देश सभा विशेष कारण देखाउँदै २७ गतेका लागि सारिएको थियो ।
गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।

