Breaking News

पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको जित

एनपिएल लिग अन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको जित निकालेको छ।

यससँगै प्लेअफबाट बाहिरिएको पोखराले ६ अंक जोड्दै पाँचौ स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ। यता चितवन भने छैटौं स्थानमा छ। भोलिको खेलमा जनकपुरले जित निकाले चितवन सातौं स्थानमा रहेर सिजन अन्त्य गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले दिएको १२१ रनको सामान्य लक्ष्य पोखराले दुई बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

पोखाराका लागि अन्तिम खेलमा मौका पाएका अर्जुन कुमालले ५३ बलमा २ चौका र १ छक्काको मद्दतमा नटआउट ४३ रन बनाए भने एडम रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६५ रन जोडे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जासन रोय ६ रनमा नटआउट रहे।

पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको थियो।

चितवनका लागि देव खनालले बनाएको ३५ रन सर्वाधिक बन्यो। उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै कप्तान कुशल मल्लले २३ बलमा २३ रन बनाए।

अल्पेस रमजानी ३२ बलमा १ चौका र २ छक्का प्रहार गरी ३३ रन बनाएर नट आउट रहे। सेफ जैबले १७ रनको योगदान गरे।

बलिङतर्फ पोखराका धनन्जय लक्ष्यनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकरएक विकेट लिए।

यससँगै अब लिग चरणको अन्तिम खेल बाँकी छ। भोलि साढे तीन बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच अन्तिम खेल हुँदैछ।