आफ्नै छोरालाई जिउदै गाडेको आरोपमा बाबु पक्राउ

५ असार, बुटवल । प्रदेश ५ को रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।

तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ ।

बच्चालाई खाल्डोबाट निकाल्दासम्म मृत्यु भइसकेको थियो । छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ’ डीएसपी राठौरले भने, ‘आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको छ ।’

आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।